Sur Cinema

सिनेमाघरमा ‘होस्टेल ३’

काठमाडौं : सिनेमा ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो सिनेमाले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ । ‘नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो र बुकिङको आँकडालाई हेर्दा सिनेमाको व्यापारले राम्रो गति लिने वितरकहरूले बताएका छन् ।

युवा पुस्तालाई लक्षित यो सिनेमाले नेपाली सिनेमाका मुख्य दर्शक वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् ।

यसको गीत र ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा बढेको थियो । सिनेमामा माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस सिनेमाको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन् । अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।