काठमाडौं : सिनेमा ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट सिनेमाको छायांकन सुरु गरिएको हो । केही दिन यो सिनेमाको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ ।
३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले सिनेमाको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो सिनेमामा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । सिनेमा प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो सिनेमाको छायांकन गरिरहेका छन् ।
१३ वर्षपछि सिने क्षेत्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान निकै उत्साहित देखिए । उनले भने–‘यो सिनेमाको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका सिनेमाको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै सिनेमाबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले सिनेमामा काम गरिनँ ।’सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए । सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन ।















