Sur Cinema

‘दुःखी आत्मा’ ट्रेलर : आँचलको अगाडी आँखाले प्यास मेटेर बाँचिरहेको दया

काठमाडौं : टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल सिनेमा ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ । निर्माणपक्षले सिनेमा रिलिजको १० दिन अगाडि मात्र आज ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’यो कविताले पनि सिनेमाले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो सिनेमामा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ ।

सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो सिनेमा फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ । सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।