Sur Cinema

‘रंगी’को गीत “छ भने माया” : जम्बो कलाकार एउटै फ्रेममा

काठमाडौं : आगामी फागुन २ गतेबाट रिलिज हुने सिनेमा ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन् । डान्सिङ नम्बरको गीतले मायाको कुरा गरेको छ । गीतमा सलोन र नम्रताको जोडी निकै सुहाएका छन् । कलाकारहरुलाई कोरियोग्राफर कविराज गहतराजले नँचाएका छन् ।

सिनेमाका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले आफू अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यममार्फत सुनेको स्मरण गर्दै एउटा राम्रो गीत दर्शकलाई दिन पाएकोमा खुशी व्यक्त गरे ।निर्देशक सुरेश न्यौपाने र आफ्नो सानो प्रयासले ‘रंगी’को अवधारणा ल्याएको भन्दै उनले त्यो अहिले सार्थक बनेको बताए ।

‘डेब्यू’ नायिका नम्रता श्रेष्ठले आफूलाई विश्वास गरेर सिनेमामा लिएकोमा आभार व्यक्त गरिन् । उनले सामाजिक कथाको सिनेमामा जोडिन पाउनु र डान्सिङ नम्बरको गीतमा काम गर्न पाउनु खुशीको कुरा भएको बताइन् । सिनेमाकी निर्मात्री करिश्मा केसी बस्नेतले सिनेमा निर्माणमा पहिलो प्रयासलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताइन् ।

‘डेब्यू’ निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सलोन र आफ्नो सोचको परिणाम रहेको बताउँदै दर्शकले सामाजिक कथासँगै हाँसो र रोदनको मिश्रण पाउने बताए । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सलोन, नम्रता र आयुषीको अलावा दिलीप रायमाझी, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।  

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।