यही पुस ५ गते बाट नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको सिनेमा ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा सिनेमाका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो ।
पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा सिनेमाका कलाकारहरूले आफ्नो अनुभव साटासाट गरेका थिए । सो क्रममा प्रमुख अभिनेता सौगात मल्लले यो सिनेमाको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
अभिनेता मल्लले सिनेमा ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे । “मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो सिनेमा हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,” मल्लले बताए ।
उनले अगाडि भने, “यो कथा कसरी बुन्न सकिन्छ होला भन्ने थियो । त्यहाँ सुटिङमा जुन खालको सम्मान पाएँ, ती ठाउँहरू मेरा एकदमै प्रिय भएका छन् । यो सिनेमा राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास छ । मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन ।”















