काठमाडौं : निर्माणाधीन सिनेमा ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । यसअघि नै सिनेमामा प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो ।
सिनेमामा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ। प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले सिनेमाका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो सिनेमाका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् ।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यस सिनेमाको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ ।















