Sur Cinema

गीत ‘अमेरिकामा घर छ’ : अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जिवनशैली र आपसी सम्बन्धलाई चित्रण

काठमाडौं : अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सिरिजको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्दछ ।

निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत र डिपी खनालको शब्द रहेको यो गीतमा प्रज्ज्वल खनालले पनि शब्द रचनामा सहयोग गरेका छन् । गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ ।

नेपाली सिनेमाकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् । अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो । सेभेन कलर्स डिजिटलले यस सिरिजको निर्माण गरेको हो ।

ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक हुने तयारीमा रहेको यो सिरिजले नेपाली दर्शकहरूलाई गजबको मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।