काठमाडौं : यही असोज २४ गतेबाट रिलिज हुने सिनेमा ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह सिनेवृत र दर्शकका लागि ‘हट केक’ हुन् । सिनेमामा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति सिनेमाको प्रचारप्रसार सामाग्री पोस्टर, टिजर र ‘कसम बत्तीको’ गीत सार्वजनिक भएपछि अहिले सबैको नजर उनीहरुतिरै सोझिएको छ ।
सिनेमामा जितु र नीति अनुबन्धित भएपछि उनीहरुको जोडी कस्तो बन्ला भन्ने सिनेवृत सँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । सिनेमाको पोस्टर, टिजर र गीत ‘कसम बत्ती’को रिलिजले सिनेमाप्रति सिनेकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ ।
अभिनयमा झण्डै दुई दशक बिताइसकेका जितु र सिनेवृत्तमा नयाँ अनुहारका रुपमा उदाएकी नीतिको क्यामेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्याधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।
सिनेमा निर्माण टिमले प्रचारप्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि सिनेमाको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता सिनेकर्मीसँगै दर्शकमा व्याप्त छ ।
सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ । तर यो सिनेमाको पोस्टर, टिजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ ।
वसन्त निरौलाको निर्देशन तथा राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको सिनेमामा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको यो सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको सिनेमामा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।
रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो सिनेमा निर्माण भएको हो । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।















