काठमाडौं : असोज २४ गते दशैंको फूलपातिबाट प्रदर्शनमा आउने सिनेमा ‘ज्वाइँ साब’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘कसम बत्तीको’ बोलको गीतलाई विवाहको परिवेशमा तयार पारिएको छ ।
सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई दुलहा र दुलहीको भेषमा आकर्षक नृत्य गर्दै गरेको अवस्थामा देखिएका छन् । यो गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको युगल गायन, यादव लम्सालको शब्द रचना र अर्जुन पोखरेलको संगीत छ ।
बसन्त निरौलाको निर्देशनमा निर्माण भएको ‘सिनेमामा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, दीपक अधिकारी, विश्व मुखिया, रोशन नेपाल, नविन काफ्ले, शिवु पाण्डे लगायतको पनि अभिनय रहेको छ ।
रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमामा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व निर्देशन तथा सन्देश शाहको सम्पादन छ ।















