Sur Cinema

कार्तिक ३० मा ‘बम बहादुर’ : लडाकुको पोसाकमा सौगात

काठमाडौं : सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली सिनेमा ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।

सिनेमाका निर्देशक जोन राईले यस सिनेमामा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको समिश्रण रहेको बताए । उनले यस सिनेमाले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छाँयाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्ने जनाए ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस सिनेमाको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय रहेको छ। 

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस सिनेमाको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।