Sur Cinema

‘आँखा’को प्रदर्शन मिति तय : पोस्टरमा स्मिता र आरके बस्ती छोडेर बाहिरिँदै

काठमाडौं : सामाजिक विषयवस्तुमा तयार सिनेमा ‘आँखा’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी लामा सिनेमाजले शनिबार सिनेमाको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अन्य कुनै पनि नेपाली सिनेमाले मिति तोकेका छैनन् ।

सिनेमाको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभुमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर-समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ । निर्देशक जौन योन्जनले पोस्टरमार्फत सिनेमाले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमालाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । यो सिनेमामा स्मिता र आरकेसँगै निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको सिनेमालाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको सिनेमाको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् ।

सिनेमामा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको सिनेमा ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । सिनेमामा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।