Sur Cinema

‘के घर के डेराः घर नम्बर २’मा मुख्य भुमिकाको लागि निश्चल बस्नेतको प्रवेश

काठमाडौं : ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘के घर के डेरा: घर नम्बर २’मा अभिनेता निश्चल बस्नेतको प्रवेश भएको छ। उनी मुख्य भुमिकाको लागि सिनेमामा अनुबन्धित भएको बताइएको छ।

सिनेमा साउनको २५ गतेबाट छायांकनमा जानेछ। सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन्। सिनेमामा यसअघि अभिनेता खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ ।

निश्चलको प्रवेशसँगै सिनेमाको लाइनअप बलियो बन्ने देखिएको छ । सिनेमाका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

सिनेमाको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की सिनेमाका कार्यकारी निर्माता हुन् ।

सिनेमामा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, सिनेमाको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।

सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो सिनेमालाई यसै बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ ।