Sur Cinema

३० दिनमा सकियो ‘ज्वाइँ साब’को छायांकन

काठमाडौं : एक महिनासम्म चित्लाङ र चितवनमा छायांकन गरेपछि सिनेमा ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । सिनेमाका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि सिनेमाको छायांकन सकिएको हो ।

कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा सिनेमाको छायांकन सकिएको बसन्तले बताए । उनका अनुसार, यसपटक सिनेमा रमाइलो बनेको छ ।

यो सिनेमामा कलाकार जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकेसँगै सिनेमाको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको छ । यो सिनेमामा जीतु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रुपमा देख्न सकिन्छ । निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको सिनेमामा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।