काठमाडौं : नेपाली सिनेक्षेत्रमा बेलाबेला एउटा विषयको खुब चर्चा हुने गर्छ फलानी फिरोइनले ३० लाख पारिश्रमिक लिइन, फलानो हिरोले ५० लाख पारिश्रमिक लिए भन्दै। कतिपयले यो कुरा पत्याउँछन् कतिपयलाई बेकार लाग्छ। अधिकांशले भन्ने गर्छन् कि महंगो पारिश्रमिक लिने कुरा गफ मात्रै हो भनेर। विशेषगरी अभिनेता अनमोल केसीको पारिश्रमिकको खुब चर्चा हुन्छ र भइरहन्छ पनि।
सायद जहाँसम्म लाग्छ अनमोलकै पारिश्रमिकको कुरा हुनुपर्छ ५० लाख लिए भनेर सुरुमा हल्ला फैलाइएको। तर अनमोलले भने आफ्नो पारिश्रमिक कहिल्यै खुलाएनन्। जब उनले नयाँ सिनेमामा काम गर्न थाल्छन् तब उनको ५० लाख पारिश्रमिकको खुबै चर्चा हुनेगर्छ। वास्तवमै अनमोलले एउटा सिनेमामा अभिनय गरेको ५० लाख पारिश्रमिक लिन्छन् त ? भन्ने कौतुहलता सबैमा थियो। तर अब यो कौतुहलता मेटिएको छ।

आइतबार मात्रै सिनेमा ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले अनमोलको पारिश्रमिक सार्वजनिक गरिदिएका छन्। रोहितले सार्वजनिक गरेको रसिदमा अनमोलले ‘फर्की फर्की’बाट ५० लाख पारिश्रमिक लिएको स्पष्ट उल्लेख गरिएको छ। यति मात्रै कहाँ होर आफूले लिएको ५० लाख पारिश्रमिक बापत नेपाल सरकारलाई अनमोलले १५ प्रतिशत प्रत्यक्ष कर सरकारलाई तिरेका पनि छन्। जुन कुरा रोहितले सार्वजनिक गरेको रसिदमा देख्न सकिन्छ । अनमोलले करबापत ७ लाख ५० हजार रुपैयाँ कर स्वरुप तिरेको खुलाएका छन्।
यसरी कुनै कलाकारले नेपाल सरकारलाई आफूले पाएको पारिश्रमिक बापत तिरेको कर सार्वजनिक भएको सायद पहिलोपटक नै होला। अनमोलको यो कदम वास्तवमै सराहनीय छ। अनमोलबाट अन्य कलाकारहरुले पनि केही सिक्न जरुरी छ।’फर्की फर्की’पछि अनमोल यतिबेला जेरी अन टप चलचित्रको वर्कसपमा व्यस्त छन्।


















