Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बाटो: रोड टु डेथ’को भव्य प्रिमियर, सिनेकर्मीहरुले दिए सकारात्मक प्रतिक्रिया

काठमाडौं : यही शुक्रवार रिलिज हुने सिनेमा ‘बाटो: रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा सिनेमाको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।

सिनेमाको प्रिमियर इभेन्टलाई वि.सं. २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो। प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए। अध्यक्ष राठीले सिनेमा क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस सिनेमाका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो सिनेमा हेर्ने जति सबैले प्रशंसा गरेको बताए । उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए। उनले भने, “नेपाली सिनेमाको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ। आजकल दर्शक सिनेमेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले सिनेमा राम्रो नै बनाउनु पर्छ।”

सिनेमाका अभिनेता सुलक्षण भारतीले यो सिनेमामा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको सिनेमा नेपालमा यसअघि नबनेको बताए। अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि सिनेमा रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे। अभिनेत्री रक्षा थापाले यो सिनेमामा एकदमै धेरै भावना जोडिएको बताइन्। उनले ‘बाटो’ हेर्दा सिनेमा सकिएको थाहा नै नहुने बताइन्। अभिनेत्री मिथिला शर्माले यस सिनेमामा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस सिनेमाका निर्माता चन्दन झा हुन्। यसलाई दक्षिण भारतीय सिने उद्योगका छायांकार शरण ऋषिले छायाङ्कन गरेका छन्। सिनेमाका लाइन प्रोड्युसरहरू शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन्। त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन्।

सिनेमामा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। जेठ ३२ गते नेपालभर रिलिज हुने यस सिनेमालाई डिसिएनले वितरण गर्दैछ ।