Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’

काठमाडौं : नवीन सुब्बाको निर्देशनमा तयार भएको सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन् ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा स्वयं हुन् । टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् । यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स भने सेभेन सिजले खरिद गरेको छ ।