काठमाडौं : कलाकारले जान्नु पर्ने अभिनय नै हो । यसमा कुनै दुईमत नहोला । तर, धेरैले आईडल मान्ने उनीहरुको ब्यक्तिगत आचरण अझ भनौ सार्वजनिक रुपमा प्रस्तुत हुँदा कमसेकम अनुसासनमा भने ध्यान दिन पर्ने हुन्छ । यसो भन्दै गर्दा उनीहरुको ब्यक्तिगत जीवन नै हुँदैन भन्न खोजिएको होइन् । तर, एक आम नागरिकले ध्यान दिन पर्ने अनुसासनका कुरामा सेलिब्रेटीले अझ विशेष ध्यान दिनुपर्ने हुन्छ ।
बुद्ध जयन्तीको दिनदेखी नायक प्रदीप खड्का अभिनित सिनेमा “पूजार सार्की” हलमा लागिरहेको छ । सिनेमा प्रमोसनमा उनले खुबै मेहनत गरे । सिनेमा रिलिजको दिन बाटै उनी हल भिजिट तिर पनि लागेका छन् । सिनेमाको सफलताको चर्चा पनि यत्र तत्र छ । अझ भनौ उनको क्यारेक्टर मैतबहादुरको पनि । यही क्रमका भिडियोहरु बिच प्रदीपका धेरै भिडियोमा “चुइगम” चपाउदै गरेको दृश्य पटक पटक देख्न सकिन्छ । प्रेसको अघि उभिएर बोल्दै गर्दा उनी बेपर्वाह चुइङ्गम चपाउदै गरेको दृश्यले धेरै दर्शकलाई सायद बिझाउछ । उनको चुईगम प्रेम यस अघि पनि धेरै पटक देखिएको हो । उनलाई यति हेक्का त हुन पर्ने हो ।
आफ्नो सिनेमाबारे बोल्दा अझ क्यामेरा अघि प्रस्तुत हुँदा कलाकारहरुले चुईगम चपाउने देखि कोठा भित्र छायांकन गरिएका अन्तर्वार्तामा समेत चस्मा लगाउने जस्ता झिना मसिना लाग्ने तर धेरै नै बिझाउने हर्कत गरिरहेका हुन्छन् । यी विषयलाई ठूलो नमान्दा पनि हुने हो । तर, अति सामान्य अनुसासन त कलाकारले पनि पालना गरेकै राम्रो देखिन्छ ।















