Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘पुजार सार्की’ : शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल

काठमाडौं : बिहीबार बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो । दोस्रो दिन शुक्रवार पनि सिनेमाले सुखद व्यापार कायम राख्यो । आज तेस्रो दिन शनिवार सिनेमाको व्यापारमा अझै आक्रामक व्यापार देखिएको छ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ । दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए । शनिवार बिहानदेखि ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए ।

मध्यान्हमा बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल, बालाजुमा पनि सिनेमाको टिमले सहभागिता जनाउने छ। त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन्। त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतले बताए ।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो सिनेमाबाट नेपाली सिनेमाका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ।

विकास सुवेदीले लेखेको यो सिनेमाका निर्माता सुवास भुसाल हुन् । यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। सिनेमाले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। सिनेमालाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन् । ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ ।