Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पूजार बनेर अभिनय गर्न गारो भए पनि सिनेमालाई लिएर आशावादी छु : आर्यन सिग्देल

काठमाडौं : नायक आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र आस्तिक पनि होइनन् । उनी भगवान् आफ्नै मनमा छन् भन्ने कुरामा विश्वास गर्छन् । उनै आर्यन यही जेष्ठ १० गतेबाट रिलिज हुने प्रतीक्षित सिनेमा ‘पुजार सार्की’मा ब्राह्मण चरित्रमा देखिँदै छन् ।

‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । सिनेमाका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए । सिनेमाका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले। “मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नु परेन । निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो । तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,” आर्यनले बताए । आर्यनको लुक्स बाहिरिएपछि बुवा समेत खुसी भए । “निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,” आर्यनले सम्झिए ।

यस सिनेमामा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन् । यसमा आर्यन पुजारी छन् । उनको प्रेम अञ्जनासँग हुन्छ । “यस सिनेमाको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन”, आर्यनले कथाबारे बताए ।

आफ्नो चरित्र आर्यनका लागि चुनौतीपूर्ण लाग्दो रहेछ । “अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ। त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर चलचित्र अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,” आर्यन भन्छन् ।

करियरको सुरुवात देखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो। उनले चाहेर या नचाहेर सो ट्याग बोकेर दुई दशक लामो समय दर्जनौँ सिनेमामा काम गरे। करियरको मध्य बिन्दु तिर उनले ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा काम गरेका थिए। तर, सो सिनेमाले भने उनको छवि बदल्न सकेन। उनले ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा छन्। ‘हामीले यो धारको सिनेमा पनि गर्नुपर्छ र अर्को मूलधारको सिनेमा पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो। दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथा पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,’ आर्यनको भनाई छ।

‘पुजार सार्की’को ट्रेलरप्रति आफ्ना फ्यानको चासो बढेकोमा आर्यन दङ्ग छन्। “सपिङमा जाँदा होस् अथवा कतै बाटोमा भेटिँदा फ्यानहरूले ‘पुजार सार्की’ र मेरो चरित्रप्रति चासो देखाउनुभएको छ। उहाँहरू उत्साहित भएको पाएको छु,” आर्यनले खुसी साटे। ‘पुजार सार्की’ किन हेर्ने भन्ने प्रश्नमा आर्यन प्रस्ट छन्। “यो सिनेमा दिनेश राउत, विकास सुवेदी, पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काको विश्वासका लागि पनि हेर्ने हो। के विषय, कुन आइडियामा सिनेमा बनेछ, यी पाँच जना कसरी बाँधिन सके भन्ने चासो हुनेले अवश्य नै यो सिनेमा हेर्नुहुनेछ,” आर्यन भन्छन्, ।

आर्यनलाई ‘होमवर्क’को चरित्र भन्दा ‘पुजार सार्की’को चरित्र अलिक ‘टफ’ लागेको रहेछ। “यसमा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो। सबै चिजलाई ‘मर्ज’ गर्दा ‘पुजार सार्की’ अलिक टफ भयो,” उनले भने।