Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘पूजार सार्की’बारे दलित आयोगको चासो

काठमाडौं : जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा आधारित भएर बनेको नेपाली सिनेमा ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा सिनेमाको टिमसँग आयोगका प्रतिनिधिले भेट गर्दै सिनेमा बारे जानकारी लिए।

आयोगले आयोजना गरेको कार्यक्रममा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थित थिए । लेखक सुवेदीले आयोगलाई कथावस्तुबारे जानकारी दिँदै ‘पूजार सार्की’ आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे।

आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने, “मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा सिनेमा लेखेको हुँ। सिनेमामा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ। यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो।” कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित सिनेमाबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए। “तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा सिनेमाको कथा घट्छ,” उनले भने।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन्। सिनेमाको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले सिनेमा गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन्। अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि सिनेमा बनाउन जरुरी छ र ? भन्ने लागेको रहेछ । उनले भनिन्, “जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको थियो । जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि सिनेमा बनाउनुपर्छ र भन्ने भएको थियो। जब सिनेमाको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो। त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ।”

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पूजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गरे। उनले सिनेमालाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। “जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ। यो कुराको अन्त्यका लागि सिनेमा बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ। र, आयोगले सिनेमालाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” अध्यक्ष विश्वकर्माले भने।

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि सिनेमाले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। दिनेश राउतको निर्देशनमा तयार भएको ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यस सिनेमामा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।