Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कँडेलको निर्देशनमा ‘होस्टेल ३’को निर्माण घोषणा

काठमाडौं : सिनेमा ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । सिनेमाको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्ने छन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।

यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’मा उनको लगानी रहने छैन् । उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई सिनेमा बनाउन अनुमति दिएका छन् । निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्।

‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए । उनले यस सिनेमाबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने सङ्केत गरे। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

पहिलो पटक सिनेमा निर्देशन गर्न लागेका सशान कँडेल डेढ दशक देखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन् भने माधव शर्मा एक दशक यता नेपाली सिनेमामा सक्रिय छन् ।

‘होस्टेल ३’को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । सिनेमाका प्राविधिक टिम र कलाकारहरू पत्रकार सम्मेलनको आयोजना गरी चिनाउने तयारी रहेको निर्देशक कँडेलले बताए । यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य राखिएको निर्देशकले बताए ।