Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बोक्सीको घर’को कौतुहलता बढाउने गीत “बुझिन मैले”

काठमाडौं : सिनेमा ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार पारेकी हुन् ।

गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सार्वजनिक गीत सिनेमाको कथा हेरेर तयार पारेको गीतको भिडियोबाट बुझ्न सकिन्छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

सिनेमाको गीतमा केकीका अलवा निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियालाई पनि फिचर्ड गरिएको छ । सिनेमाको सार्वजनिक यो गीतले दर्शकमाझ कौतुहलता बढाउने बुझाई निर्माण टिमको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथी आधारित रहेर निर्माण गरिएको छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको बुझ्न सकिन्छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ । सिनेमा आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।