Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘हात्तीछाप’बारे दर्शक प्रतिक्रिया : उत्कृष्ट सिनेमा, सिक्वेलको आशा

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हात्तीछाप’ले आज शनिबार देशभरका हलमा सुखद कमाई गरिरहेको छ । निर्माण टिमले आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा सिनेमा हेर्न पुगेका दर्शकले सिनेमा ‘गज्जब’ रहेको बताए । सिनेमाले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

सिनेमा हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको समेत बताए । सिनेमाको अन्तिममा सिक्वेलको घोषणा गरिएकाले पनि सायद चाडै नै तयार हुने आशा उनीहरुको थियो ।

सिनेमाका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।

हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र सिनेमालाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’

यस्तै, उनले सिनेमाले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि सिनेमाले पूर्ण रुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।