Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सौरभको योजना हो या परिस्थिति ?

काठमाडौँ : सिनेमा ‘अगस्त्य’ बहुप्रतीक्षित बनेको छ । सिनेमाको पोस्टरलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिए । सौगात मल्लको फरक लुक देखि निश्चल बस्नेतको भूमिका सम्म र नाजिर हुसेनको भिन्न भिन्न अवतार सबैले दर्शकको मनमा कौतुहलता जगाएको छ ।

यही बिच केही दिन अघि सिनेमाको करिब दुई मिनेट लामो टिजर पनि सार्वजनिक भएको छ । टिजरमा, पोस्टरमा समेत नदेखिएका प्रमोद अग्रहरी हाबी छन् । जबकि उनको पोस्टर बनाउन निर्देशक सौरभ चौधरी र टिमले जरुरी नै सोचेनन्, या त सिनेमामा धमाका गर्नका लागि टिमले पर्खिएको छ । 

यस अघि पनि निश्चलको जन्मदिनमा सौरभले सरप्राईज भन्दै पोस्टर सार्वजनिक गरेका थिए । केही यस्तै सरप्राईजका लागि पो सौरभ प्रमोदको क्यारेक्टर र लुक लुकाउँदै कि भन्ने आशङ्का भने बाँकी नै छ । यसको जवाफका लागि सौरभ सँग कुरा गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । 

यता टिजरको लम्बाई नै ट्रेलर बराबरको छ । अब ट्रेलर मार्फत अझ सिनेमाबारे केही जानकारी पक्कै आउला । तर पोस्टरमा स्पेस नपाईरहेका प्रमोदलाई टिजर लामो बनाएरै हाबी बनाउनुले सबै भूमिका प्रचार सामाग्री मै सक्न खोजेको हो कि भन्ने पनि देखिन्छ । जे होस टिजरले  भने सिनेमालाई अझै प्रतीक्षित बनाएको छ । 

यी सब बिच सौगातको अर्को सिनेमा ‘हात्तिछाप’ माघ २६ गतेबाटै हलमा लाग्दै छ । सिनेमाको प्रचारमा सौगात नै अघि छन् । किनकि अर्का नायक दयाहाङ राई हालै मात्रै नेपाल आएका छन् । यसो हुँदा दर्शक झुक्किने सम्भावना अधिक छ । फेरि सौगात देखिने देखाउने कुरामा यति अल्छी छन् कि एउटै पहिरनमा दुवै सिनेमाको प्रमोसनमा पुग्छन् । यो त अझ मेकरको लागि घाटा र दर्शकको लागि द्विविधाकाे विषय बन्न पुग्छ ।

अझै नाजिर हुसेन पहिला झैँ मिडियामा आउन रुचाएको देखिँदैन । यसको जवाफमा उनले काम मै व्यस्त भएको र चाँजोपाँजो नमिलेर मिडियामा न आएको बताए । उनले खुलेरै ‘गुन्यु चोलो’ सिनेमाका लागि डेढ वर्ष समय र ‘अगस्त्य’का लागि करिब-करिब एक वर्ष समय खर्चिएको बताएका छन् । एक सिनेमाको प्रमोसनमा घुमाएर अर्को सिनेमाको प्रचार गर्दै पो छन् कि झैँ देखिन्छ । 

सानो क्षेत्र भए पनि कलाजगतमा जति खुट्टा तान्ने प्रवृत्ति बिरलै क्षेत्रमा होला । अब यस्तोमा कला जगतमा सौरभले ‘हात्तिछाप’ सिनेमालाई असर गर्ने नियतले मिलाएर टिजर सार्वजनिक गर्दै गरेको हल्ला सिनेबृतमा चल्न थालेको छ । प्रमोसनको तयारी पनि यही अनुरूप भएको स्रोत बताउँछ । 

यसरी हेर्दा सौरभ आफ्नो राम्रो प्रोडक्टमा मात्रै विश्वस्त नभएर अरुको सिनेमालाई पनि असफल बनाउने प्रयासमा लागेको हो कि जस्तो देखिन्छ । ‘अगस्त्य’को सबै प्रचार सामाग्रीलाई सकारात्मक प्रतिक्रिया आएको छ । ‘हात्तिछाप’को पनि आफ्नै हाईप छ । प्रदर्शनको समयमा पनि एक महिना जस्तो नै ज्ञाप छ दुई सिनेमा बिच । यस्तोमा एक अर्का सँग मिलेर अगाडि बढ्न सके दुवै सिनेमालाई फाइदा पो हुने थियो कि !

सौरभको ‘लभ डायरिज’ सिनेमा असफल भएको सिनेमा हो भन्दा फरक नपर्ला । उनी ‘अगस्त्य’लाइ लिएर आशावादी छन् । उनको मेहनत पनि प्रस्ट देखिन्छ । तर यो नजानिँदो खिचातिनीले आशा गराैँ उनको करियर र सिनेमा दुबैलाई धक्का पुर्‍याउने छैन, र सफल निर्देशकको लिस्टमा उनको नाम थपिने छ ।