Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भुवनसँग रुष्ट बनेका नीर र प्रदीप अहिले देखिए एकैसाथ

काठमाडौं : सिनेमा नगरिमा एउटा भनाइ खुब चर्चित छ। जुन भनाइ हो ‘सिनेमा क्षेत्रमा कोही कसैको स्थायी मित्र हुँदैन र शत्रु पनि हुँदैन।’ यो भनाइलाई चरितार्थ गर्ने उदाहरणहरु नेपाली सिने उद्योगमा धेरै छन्। ति मध्ये चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र अभिनेता प्रदीप खड्काको सम्बन्ध उक्त भनाइको ताजा अनि ज्वलन्त उदाहरण हो।

सिनेमा ‘प्रेमगीत ३’को रिलिजताका होस् या ‘प्रकाश’को रिलिजताका होस् प्रदीप चलचित्र विकास बोर्ड माथि खरो उत्रिएका थिए। अझै भनौं भुवन केसीको नेतृत्व शैलीको विरुद्धमा प्रदीप खरो रुपमा प्रस्तुत भएका थिए। जुन कुरा सिनेमासँग चासो राख्ने दर्शकलाई अवगत नै छ।

त्यसबेला प्रदीपले भुवन विरुद्ध विभिन्न अभिव्यक्ति दिए। यतिसम्म कि भुवनको योग्यतामाथि प्रश्न चिह्न खडा गर्दै चलचित्र विकास बोर्डको अध्यक्षबाट राजिनामा समेत प्रदीपले माग गरे। उता भुवनले पनि प्रदीपका अभिव्यक्ती विरुद्ध विभिन्न समारोहमा आफ्नो जवाफ दिए। यि दुईको सितयुद्धले निकै उग्ररुप लिएको थियो त्योबेला।

त्यसो त बरिस्ठ कलाकार नीर शाह पनि चलचित्र विकास बोर्डमा भुवनको नेतृत्व शैली देखेर रुष्ट नै थिए। कलाकारको हकहितका लागि भुवनले राम्रो काम गर्न नसकेको नीरले आरोप समेत लगाएका थिए। तर यतिबेला भने नीर, प्रदीप र भुवनबीचको सम्बन्धले सुधार पाएको देखिन्छ।

मंगलबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करणको घोषणा कार्यक्रममा भुवन, नीर र प्रदीप एकैसाथ देखिए। कार्यक्रममा एकैसाथ देखिएका उनीहरू एक अर्कासँग खुलेर गफ गरिरहेका देखिन्थे। भुवनले त प्रदीपलाई सुपरस्टार नै भनेर सम्बोधन गरे।

भुवनको मुखबाट सुपरस्टारको सम्बोधन सुन्दा प्रदीप पनि मुस्कुराएका थिए। भुवन र प्रदीप त एकै सोफामा बसेर निकैबेरसम्म गफिएका समेत थिए।

यता नीर पनि भुवनसँग सहज देखिएका थिए। अन्ततः केही महिना अघिसम्म भुवनदेखि रुष्ट बनेका नीर र प्रदीपले एकै फ्रेममा उभिएर तस्वीर समेत खिचाए। तस्वीरबाट पनि थाहा हुन्छ कि उनीहरूबीचको सम्बन्ध अहिले राम्रो भइसकेको छ। जसले पक्कै पनि नेपाली सिनेमा उद्योगमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

एक अर्कासँग रुष्ट बनेर भन्दा पनि सुमधुर सम्बन्ध बनाएर अघि बढ्ने हो भने सिनेमा उद्योगलाई नै राम्रो टेवा पुग्ने हो। हाल प्रदीप यही सिद्धान्तमा छन्। आफूसँग बिग्रीएका सम्बन्ध सुधारमा प्रदीप पछिल्लो समय निकै सक्रिय छन्।