Sur Cinema

विपिनलाई सिनेमामा काम गर्न वर्षासँग सहज

काठमाडौं: पछिल्लो समय अभिनेता बिपिन कार्की नयाँनयाँ सिनेमामा काम गर्न निकै व्यस्त छन्। मंगलबारमात्रै उनले सिनेमा ‘महाजात्रा’को छायांकन सिध्याए। प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको ‘महाजात्रा’को छायांकन मंगलबार सकिएको हो।

सिनेमाको एउटा नयाँ गीतको छायांकन गर्दै निर्माण टिमले इन्डक्ल्याप गरेको हो। नयाँ गीतमा सिनेमाका मुख्य कलाकारहरु वर्षा राउत, बिपिन कार्की, रबिन्द्र झा लगायतका कलाकारहरु नाँचेका छन्। उसो त, आश्मा विश्वकर्मा र अरुण क्षेत्री पनि अतिथि कलाकारको रुपमा गीतको भिडियोमा देखिएका छन्।

सिनेमाको गीतको छायांकन पश्चात् बिपिन र वर्षाले मिडियाकर्मीसँग केही कुराकानी पनि गरेका थिए। कुराकानीका क्रममा बिपिनले अन्य नायिका भन्दा वर्षासँग काम गर्न सहज हुने बताए। धेरैवटा सिनेमामा वर्षासँग काम गरिसकेकोले काम गर्न निकै सहज हुने उनले बताएका हुन्।

वर्षाले पनि आफ्नो जोडी बिपिनसँग सुहाउने कुरा स्विकारिन्। मिडियामा राम्रो जोडी भनेर न्युज आइराख्दा धेरैले पनि राम्रो जोडी सुहाउने भन्ने गरेको वर्षाले बताइन्। यस् अघि बिपिन र वर्षाले सँगै काम गरेका सिनेमाहरु दर्शकले अतिनै रुचाएका छन्।

‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि निर्माण टिमले तेस्रो सिक्वेलका रुपमा ‘महाजात्रा’ निर्माण गरेको हो। सिनेमामा बिपिन, वर्षाका अलावा हरिवंश आचार्य, रबिन्द्र सिंह बानिया लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमा चैत्र ९ गतेदेखि प्रदर्शनमा आउनेछ।