काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अब केही दिन मात्रै बाँकी छ। हरेक वर्षजसो तिहारलाई लक्षित गर्दै तिहार विशेष देउँसी भैलो गीत रिलिज हुने गर्छन्।
पहिले जस्तो पछिल्लो केही वर्षयता देउँसी भैलो गीत त्यति बजारमा आउँदैनन्। खर्च धेरै हुने तर छोटो अवधिमै गीतको सिजन सकिने भएकोले पनि कलाकारहरुले तिहार विशेष गीत बजारमा ल्याउन मान्दैनन्। तर पशुपति शर्माको भने हरेक वर्ष तिहार विशेष गीत बजारमा आउने गर्छ।
यो वर्ष पनि उनको स्वर रहेको नयाँ देउँसी भैलो गीत रिलिज भएको छ। सोमबार ‘गुडलक नेपाल’ नामक युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा पशुपतिका अलावा अर्जुन सापकोटा, शान्तिश्री परियार, शान्तारानी परियार र पूजा देवकोटाको आवाज रहेको छ। गीतको शब्द दुर्गा पौडेलले लेखेका हुन्। संगीत भने गीतमा पशुपति शर्माको रहेको छ।
झिलिमिली तिहारको बत्तिसहित आकर्षक फ्रेममा भिडियो निर्माण गरिएको छ। भिडियोमा पशुपति शर्मा, अर्जुन सापकोटा, अन्जु निरौला लगायतका कलाकारहरु फिचर्ड छन्। भिडियोलाई दुर्गा पौडेलले नै निर्देशन गरेका हुन्। अजय रेग्मीले खिचेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन्।