काठमाडौं : भोलि शुक्रबारदेखि निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ नेपालभर रिलिज हुँदैछ। निर्माण टिमले आज बिहीबार राजधानीमा प्रिमियर शो पनि राखेको छ। रिलिज पश्चात् कस्तो दर्शकको कस्तो साथ पाइने हो भन्नेमा निर्माण टिम निकै उत्साहित छ यतिबेला।
यसैबीच, केही हप्ता अघि मात्रै रिलिज भएको यो सिनेमाको गीत ‘हितैको माया’को रिप्राईज भर्सन पनि रिलिज गरिएको छ। ओर्जिनल भर्सनमा इन्द्रकला राई र सुगम पोखरेलको आवाज रहेको छ। तर रिप्राईज भर्सनमा ‘दिमाग खराब’कि नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतको स्वर रहेको छ। जयन जे वाइवाको पनि रिप्राईज भर्सनमा स्वर सुन्न सकिन्छ। गीतमा जयन जे वाइवाकै शब्द अनि संगीत रहेको छ।
रिप्राईज भर्सन भने स्वस्तिमाले आफ्नै युट्युव च्यानलबाट बिहीबार रिलिज गरेकी हुन्। गीतमा उनको स्वर मीठो सुनिएको छ। यस् भन्दा अघि कुनै गीत नगाएकी स्वस्तिमाले रिप्राईज भर्सनमा गाएर सबैलाई चकित पारेकी छिन्। निश्चलले भने यस् अघि केही गीतहरुमा आवाज दिइसकेका छन्। जुन गीत बजारमा लोकप्रिय समेत भएका छन्।
उसो त, स्वस्तिमाले ‘दिमाग खराब’को प्रचारप्रसार गर्दै लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा पुगेर पनि प्रत्यक्ष दोहोरी गाइसकेकी छिन्। तर एल्बमका गीतमा भने स्वर दिएकी थिइनन्।
आकाश बरालको कथा सिनेमामा रहेको छ। सिनेमामा स्वस्तिमाका अलावा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुजन बम ठकुरी सिनेमाका निर्माता हुन्।