Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘अहिलेको पुस्तामा हिरोभन्दा पनि कलाकार स्थापित भइरहेका छन्’- रेखा थापा

काठमाडौं : एक समय थियो हिरो भन्ने बित्तिकै ‘अग्लो, हेर्दा राम्रो, जिउँडाल खाइलाग्दो भएको, लामो कपाल पालेको’ कलाकारको छवि हाम्रो दिमागमा आउँथ्यो। फेरि यस्तै विशेषता भएका हिरोहरुलाई सिनेमामा खुब रुचाइन्थ्यो। महानायक राजेश हमाल, भुवन केसी, बिराज भट्ट, निखिल उप्रेती लगायतका हिरोहरु यही प्रकारका हिरोहरु हुन्।

जब सिनेमा उद्योगमा अभिनयले निखारिएका दयाहाङ राई जस्ता कलाकारहरुको उदय भयो, तब हिरोको परिभाषा नै बदलियो। दया जस्ता अभिनय अब्बल भएका कलाकारहरुका सिनेमाहरु पछिल्लो समय निकै रुचाइएका छन्। यो कुरा नायिका रेखा थापा पनि स्विकार्छिन्।

लामो समयपछि नयाँ सिमेमा ‘उपहार’ मार्फत दर्शकमाझ कमब्याक हुन लागेकी रेखाले अहिलेको पुस्तामा हिरोभन्दा पनि कलाकारहरु सिनेमा उद्योगमा स्थापित भएको बताउँछिन्।

केही दिन अघि ‘उपहार’को नयाँ गीत रिलिज कार्यक्रममा उनले सो कुरा बताएकी हुन्। ‘अहिलेको जेनेरेसनमा हिरोभन्दा पनि कलाकारहरु स्थापित भइरहेका छन्’, उनले भनिन्, ‘ जस्तै मुकुन भुसाल, दयाहाङ राई। एउटा राम्रो प्रकारको वेभ आएको छ। हिरो मिस भईरहेको छ।’

उनले हिरोहरु आफै-आफै झगडा गरेर पनि मिस भएको जिकिर गरिन्। ‘उपहार’मा उनले अभिनेता मुकुन भुसालसँग जोडी बाँधेकी छिन्। त्यसैले पनि मुकुनको काम उनलाई खुब मन परेको छ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा रेखा र मुकुनका अलावा पूजा शर्मा, बेनिशा हमाल, समर्पित जंग कार्की, तेज गिरी, शिशिर राणा, अंशु महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सुलक्षण भारतीको कथा रहेको सिनेमामा माधव शर्मा, अभिमन्यू निरवी र सुलक्षण भारतीको पटकथा रहेको छ। सिनेमालाई विष्णु घिमिरेले खिचेका हुन् भने मित्र डि गुरुङले सम्पादन गरेका छन्।