Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विदेशमा धमिलिँदै गायकगायिकाको छवि !

काठमाडौं : गायिका अभया सुब्बाले ‘भ्वाइस अफ नेपाल’मा खुट्टाले बर्जर बजाएको भन्ने बहानामा खुब विरोध भयो। कुनै जघन्य अपराध गरेझैं उनीमाथि संगीतकर्मीले व्यवहार गरे । यही कारण उनलाई जजको कुर्सी छोड्न वाध्य पारियो समेत भनियो। खैर, यसको त कुनै प्रमाण छैन । आज उनै संगीतकर्मी, जसले अभयाले ‘अपराध’ गरेझैं व्यवहार गर्दै थिए अहिले अर्का गायक सुगम पोखरेलको बचाउ गर्दै छन्।

भिडियोमा स्पष्ट देखिन्छ सुगमले स्टेजमा जाँदा मादकपदार्थ सेवन गरेका थिए। आयोजक मध्यका एकले पनि उक्त कुरा पुष्टि गरेका छन् । अग्रज गायक भएकोले दर्शकले सुगनको कुरा मान्नुपर्ने ? उनले गरेको गल्ती माफ दिनुपर्ने ? अझै एक जमात त गल्ती नै थिएन भन्दै बचाउमा उत्रिएका छन्।

सुगमले मृतकप्रति श्रद्धाञ्जलीका लागि मौनधारण गर्न आग्रह गरेका थिए । कन्सर्टमा झुमिरहेका दर्शक अचानक मौन धारनका लागि तयार देखिएनन् । अझैँ सोच्ने हो भने उनीहरु पनि सुगम झैँ मदिरामा लठ्ठ पो थिए कि ? अब त्यत्रो जमातमा सबैले उनको कुरा मान्नैपर्ने पनि भएन होला। तर त्यसो भन्दैमा माइक नै फ्याक्नुलाई सहि मान्न सकिँदैन। अझ उनले अपशब्द समेत बोलेका छन्।

सार्वजनिक स्थलमा बसेर यतिको चर्चित व्यक्तिले यस्तो शब्द बोल्नु कति जायज होला ? एक त स्टेज, जसलाई उनले ढोगेका छन् त्यहाँ नै मदिराले लठ्ठ ज्यान लगेर गए। अर्को आफ्नो आवाज दर्शकसम्म पुर्‍याउने माइक नै फ्याँके। जुन जायज देखिएन। जे होस्, उनले घुमाएर माफी मागिसकेका छन्। आयोजक समेत सबैले माफी मागिसके। आशा गरौं यो घटनाले अझ ठूलो रुप लिने छैन ।

००००

गायक हर्कुलस बस्नेत सम्पर्क बिहिन भएका छन्।एक कार्यक्रममा प्रस्तुति दिन अमेरिका पुगेका बस्नेत कार्यक्रममा त सहभागी भएनन् नै आयोजकले सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा आइरहेका छैनन्। पहिलोपटक आफ्नो प्रस्तुति  दिन अमेरिका पुगेका हर्कुलसको साथमा अस्मिता अधिकारीको पनि प्रस्तुती थियो । हर्कुलस सम्पर्कमा नआए पनि उनले भने आफ्नो प्रस्तुति  दिएकी छन्।

गत अक्टोबर ३१ तारिक मंगलबार बोस्टनको कार्यक्रम सकेर न्युयोर्क आएका गायक बस्नेत नोभेम्बर १ बुधबारका दिन साथि भेट्छु भनि निस्किएका थिए ।  नोभेम्बर ३ मा उनको न्युयोर्कमा प्रस्तुति थियो । तर कार्यक्रममा उनी उपस्थित भएनन् । आयोजकले फोन र म्यासेज मार्फत स्म्म्पर्क गर्न खोज्दाउनी सम्पर्कमा आउन चाहेनन ।

माइभ एट प्रेजेन्टको मुख्य आयोजनामा अक्टोबर  २१ देखिसम्म उनी सहभागी हुने गरेर कार्यक्रम आयोजना गरिएको थियो । आयोजकको सम्पर्कमा नआए पनि उनले २ दिन पहिले आफ्नो सामाजिक संजालमा साथीसँगै न्युयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन्। त्यस्तै अन्य अपडेट पनि निरन्तर गरिरहेका छन्।

००००

रोमानियाको एक कार्यक्रममा प्रकाश सपूतमाथि बोत्तल प्रहार गरियो । मदिरा सेवन गरेका एक युवाले उनीमाथी बोत्तल प्रहार गरेका थिए । पछि सपुतले माफी दिएको भन्दै खुब समाचार बने। माफी माग्न लगाइएको फोटो र भिडियो पनि बाहिरियो । अनि घटना साम्य भयो ।

००००

अर्का गायक राजेश पायल राईमाथि अमेरिकाकै एक कार्यक्रममा दुर्व्यवहार भयो। एक व्यक्ति आए र उनको घाँटी समातेर दबाउने प्रयास गरे । मदिरा सेवन गरेका उक्त व्यक्तिले पछि माफी मागे । माफीको खबर पनि बन्यो । घटना सेलायो ।

यी समग्र घटना हेर्दा स्टेज गायकका लागि र कन्सर्ट दर्शकका लागि सुरक्षित देखिएन। अझ आयोजकका लागि गायक पनि घातक नै हुने झैँ  व्यवहार गरे हर्कुलसले त । नेपाली गायक गायिका कार्यक्रमका लागि भन्दै विदेश जान्छन्। पिजी भिसा अन्तर्गत जाने उनीहरु र कार्यक्रम आयोजकको व्यवहारका कारण आगामी दिनमा अन्य गायक गायिकालाई भिसामा कडाई गर्ने अवस्था आउनसक्ने देखिएको छ ।

यी र यस्ता खालका सस्ता व्यवहारले सम्पुर्ण नेपाली र संगीतकर्मीको छवि नै धमिलिन थालेको छ विदेशमा । आस्था राउत जस्ता देश-विदेश घुमेका गायिकाले त पर्यटक भिसामा विदेश पसेर गीत गाउदै कमाई गर्दा रहेछन् भन्ने तथ्य केही समय अघि बाहिर आएको थियो । अस्ट्रेलिया मै पनि समीक्षा अधिकारीले दिदीलाई उतै छोडेर आएको घटनाले पनि कम चर्चा भने पाएको थिएन ।

समग्रमा हेर्दा पछिल्लो समय संगीतकर्मीहरु स्वयंले नै आफ्नो कमाउने बाटो खुम्च्याउन पो थालेका हुन् कि भन्ने भान यतिबेला हुन थालेको छ।