Sur Cinema

‘जदौ’को प्रेमिल स्वाद : नीति र प्रभातको रोमान्समा ‘तिमीसँग नबोली’

काठमाडौं : सिनेमा ‘जदौ’को दोस्रो गीत ‘तिमीसँग नबोली’ सार्वजनिक भएको छ। आइतबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अभिनेत्री नीति शाह र अभिनेता प्रभात पाल ठकुरीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ।

किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ। सुन्दर लोकेसनमा छायांकन गरिएको गीतले सिनेमाको प्रेमकथालाई थप आकर्षक ढंगले प्रस्तुत गरेको छ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको ‘जदौ’ आगामी ९ असोजमा देशभर प्रदर्शनमा आउँदैछ। अन्तरजातीय प्रेम सम्बन्धलाई कथाको मूल विषय बनाइएको सिनेमाको स्क्रिप्ट निर्देशक काजी लिम्बूले लेखेका हुन्।
सिनेमाको टिजर सार्वजनिक भएपछि दर्शकमाझ उत्सुकता बढिरहेको छ। नीति शाह र प्रभात पाल ठकुरीसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायत कलाकारको अभिनय सिनेमामा रहेको छ।

यसअघि सार्वजनिक गरिएको सिनेमाको शीर्ष गीत ‘जदौ हजुर…’ले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो गीतको चर्चा सेलाउन नपाउँदै निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो। प्रेम, सम्बन्ध र सामाजिक विषयलाई केन्द्रमा राखिएको सिनेमाको दोस्रो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

सिनेमाको छायांकन श्याम तामाङ र नवराज उप्रेतीले गरेका छन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल सहनिर्माता रहेको सिनेमामा सृजना शर्मा र मनिष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता छन्। बिमला भण्डारीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेकी छन्।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमालाई एनजिसिएन ग्रुपले देशभर वितरण गर्दैछ।