Sur Cinema

बाढीपीडितलाई कमाइको ५ प्रतिशत दिने घोषणा सहित ‘बेहुली’को ट्रेलर सार्वजनिक

काठमाडौं  : भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘बेहुली’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण यसअघि सिनेमाका सम्पूर्ण प्रचारप्रसार कार्यक्रम स्थगित गरिएको थियो। परिस्थिति केही सहज भएपछि निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्दै प्रचारप्रसार पुनः सुरु गरेको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले सिनेमाले बक्स अफिसबाट गर्ने कुल कमाइमा निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसीका बाढीपीडितलाई प्रदान गर्ने घोषणा गरे।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको सिनेमामा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विविध आयामसँगै पारस र दिव्याबीचको प्रेमकथा आकर्षक रूपमा प्रस्तुत गरिएको छ। सुशान्तको प्रहरी भूमिका, पदमको हास्य प्रस्तुति र सन्तोष बानियाको फरक शैलीको अभिनयले ट्रेलरलाई थप रोचक बनाएको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको सिनेमाका प्रस्तुतकर्ता अर्जुन पोखरेल, निर्माता प्रताप शमशेर राणा तथा कार्यकारी निर्माता शङ्कर कोइराला र रमेश सिलवाल हुन्। सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।