काठमाडौं : अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै पदर्शन मिति घोषणा गरेको छ ।
सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ । रिलिज अगाडी नै विभिन्न देशमा प्रदर्शन भैसकेको सिनेमा अब तोकेकै मितिमा प्रदर्शनमा आउने निर्देशक माओत्से गुरुङले बताए ।
अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । उनले यसअघि तीन पटक सिनेमाको रिलिज मिति घोषणा गरेर पोष्टपोण्ड गरेका थिए । सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकार पनि अभिनय छ ।


बासुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्मित सिनेमाले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्छ । सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमा आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

















