काठमाडौं : यो वर्ष दर्शकको प्रतिक्षामा रहेको सिनेमा मध्ये एक हो ‘पशुपति प्रसाद २: भष्मे डन’। जुन सिनेमालाई लिएर दर्शकहरु निकै उत्साहित छन्। सार्वजनिक भएका सिनेमाको ट्रेलर र प्रिभ्यूले गर्दा पनि दर्शकहरू रिलिज मितिको बेग्र प्रतिक्षामा रहेका छन्।
उसो त, सिनेमाका कलाकारहरु पनि यतिबेला प्रचारप्रसारमा निकै व्यस्त छन्। सिनेमालाई लिएर दर्शकहरु जति उत्साहित छन्, सिनेमाको टिम पनि उत्तिकै उत्साहित छ। सिनेमामा मुख्य नायिकामा स्वस्तिमा खड्का छिन्। उनले पहिलोपटक अभिनेता विपिन कार्कीसँग स्क्रिन सेयर गरेकि हुन्।
विपिन स्वस्तिमाका मनपर्ने कलाकार हुन्। विभिन्न मिडियामा उनले आफ्नो मनपर्ने कलाकार विपिन रहेको बताउँदै आएकी छिन्। आफूलाई एकदम मनपर्ने कलाकारसँग काम गर्ने अवसर ‘भष्मे डन’ले दिएको उनी बताउँछिन्।
‘भष्मे डन’मा काम गरिरहँदा विपिनसँग धेरै कुरा सिक्न पाइएको उनको अनुभव छ। आफूले विपिनबाट सिनेमासँग होस् या अन्य धेरै व्यवहारिक कुरा सिक्न पाइएको स्वस्तिमा बताउँछिन्। छायांकन सेटमा विपिनले धेरै कुरा सिकाएकोले अझै काम गर्न सहज भएको उनले अनुभव छ।
सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा सिनेमा तयार भएको हो। टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा विपिनका अलावा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।