काठमाडौं : हिजोदेखि आजसम्म देखेको, जानेको र केही बुझेको सिने नगरीमा आफू उभिरहँदा केही गरुँ, केही लेखूँ भन्ने हुटहुटीमा जन्मिएको हो “सुरसिनेमा”। हाम्रो सिने नगरी कुन सुरमा गईरहेको छ ? यदि सहि सुर लागेमा थपथपाउन र गलत सुर लागेमा झकझकाउने मात्र हामीले उद्देश्य राखेका छौँ।
प्रस्तुत उद्देश्यको यात्रामा हिडिरहँदा ‘सुरसिनेमा’को पहिलो वर्ष आज पूरा हुँदैछ। अर्थात् ‘सुरसिनेमा’ आज १ वर्षको भयो। करिब १ वर्ष अगाडि आजैका दिन (घटस्थापना)को दिनमा ‘सुरसिनेमा डटकम’को हामीले औपचारिक रुपमा सुरुवात गरेका थियौं। यो १ वर्षको दौरानमा हामीले पत्रकारिताको धर्म भित्रै रहेर नेपाली सिने जगतमा भएका बाहिर ल्याउन मिल्ने गतिविधिलाई समाचारको माध्यमबाट पाठक र सिनेकर्मीमाझ पुर्यायौँ।
हामीले सत्यमाथि कत्तिपनि कैँची नचलाई सत्यलाई सत्य र गलतलाई गलत भनेर समाचार प्रकाशन गर्यौं, गरिरहेका छौं र गर्नेछौं पनि। तथापि, दर्जनौं सिनेमासँग सम्बन्धित मिडिया हाउसकाबीचमा नयाँ मुहार स्वरुप जन्मिएको ‘सुरसिनेमा’ले कहिँकतै गल्ती पनि गरेको होला। हामी त्यस्ता गल्तीलाई सुधार्दै आइरहेका पनि छौँ। अझैपनि कहिँकतै गल्ती भयो भने हामीलाई निर्धक्कका साथ पाठक वर्गबाट सुझावको अपेक्षा राख्दछौँ।
विशेषगरी नेपाली सिनेमासँग सम्बन्धित ‘मनोरञ्जन विधा’मा रहेर मात्र समाचार प्रकाशन गर्ने मिडिया हाउसहरुको माझमा भिन्नै पहिचान बनेर अगाडि बढ्ने उद्देश्यले हामी प्रस्तुत भएका थियौं। यो उद्देश्यमा हामी कति सफल भयौं या भएनौँ त्यो कुराको मुल्यांकन गर्ने जिम्मा तपाईं पाठक वर्गमा छोडेका छौँ।
झट्ट हेर्दा अस्ति जस्तै लाग्छ ‘सुरसिनेमा’ सुरु भएको। तर १ वर्ष पार गरिरकेको छ। अझैँ यसलाई हुर्काएर अगाडि बढाउनु छ। यसको जिम्मेवारी झन् बोध भएको छ हामीलाई। यो वितेको १ वर्षको अवधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीलाई साथ दिनुहुने पाठक, सिनेकर्मी, विज्ञापनदाता, अग्रज, अनुज, सहकर्मी लगायत सम्पूर्णमा हामी आभार प्रकट गर्दछौं। अबका दिनमा पनि यस्तै साथ अनि सहयोगको अपेक्षा गर्दछौं।
‘सुरसिनेमा’ले १ वर्ष पार गरेको मेसोमा आज हामीले देखेका सिनेमाक्षेत्रका आरोह-अवरोहलाई केलाउने कोसिस गरेका छौँ ।
सिनेमा सम्बन्धि शहरमा अनेकन इन्स्टिच्युटहरु खोलिएका छन् । त्यसबाट उत्पादित विद्यार्थीले सिनेमामा जुन तदारुक्ता देखाए, त्यो हेर्न लायक बनेको पाइन्छ । कतिले व्यवसायिक सफलताको यात्रा गरिरहेका छन् भने कति आफुलाई अब्बल देखाउने कसरतमा लागिरहेका छन्।
कति परेर आएका छन्, कति पढेर । परेर आएका मध्य धेरै सफल पनि छन्। पढेर आएका भने थोरै सफल छन्। कोही रहरमा आए, कोही सपना बोकेर आए । रहरले आएकाहरुको भिडमा सपना देख्नेहरु एक्लिएका पनि होलान, तर सत्य हिड्ने मान्छे सधै एक्लो हुन्छ भने झैँ जीवनलाई यस क्षेत्रमा समर्पण गरेकाहरु कतिले सपना पाए, कति यसै बिलाएर गए, कति त पर्खिरहेका पनि होलान्, जसलाई विकृतीका बाछिटाहरुले रोकिरहेको छ।
अर्का तिर, समय बदलियो। बदलियो प्रविधि तर हाम्रो सिने समाज बदलिन कन्जुस्याइँ गरिरहेको पनि पाइन्छ। पछिल्लो विकसित सामाजिक सन्जाल र यसले पार्ने प्रभावलाई धेरैले उपयोग गरे भने केहीले यसलाई क्षण भरको न्यानो बनाएर दुरुपयोग गरे भन्दा गलत नहोला। देशका अन्य क्षेत्रमा झैँ यो नगरिमा पनि बेथितिहरु असरल्ल भेटिए ।
एक विजय प्राप्तिमा माथि जान लाग्दा अर्कोले लतार्न खोज्नु नै कहिले निको नहुने घाउ जस्तै बन्यो। कतिले त खुसी मान्नुको सट्टा खुट्टा तान्नमा नै आफुलाई खर्चिए। छिमेकी मुलुकमा झैँ एउटाको विजयमा अर्को रमाउने संस्कार नै भएन हामीमा । सिनेमा नगरीलाई नत यस सम्बन्धि संघ संस्थाले अपनत्व ग्रहन गर्न सके, न त सरकारले नै आफ्नो ठान्यो। सिनेमा क्षेत्रलाई आफ्नो ठानेर कानुनी दायरामा ल्याउन सके अन्य मुलुकले झैँ यस क्षेत्रबाट गतिलो राजस्व सङ्कलन गर्न सकिन्छ भन्ने नै बिर्सियो।
सरकार मातहत छाता संगठन चलचित्र विकास बोर्डले आफ्ना र आफन्तलाई मात्र काबिल ठानेको बाछिटाहरु प्रशस्तै देखिए। सिनेमा क्षेत्रको उन्नति प्रगतिका लागि भनेर खोलिएको सबैको साझा छाता सङ्गठन विकास बोर्ड राजनीतिक पहुचको स्थल बन्यो। फलत: यसले सबैलाई समेटेर लिन सकेन। नत यसले आफ्नो उद्देश्य अनुरुप कार्यलाई गति दिन सक्यो, न त आफ्नो साखलाई गतिलो बनाई राज्यसँग अधिकारको हक माग्न सक्यो। लगभग निरीह नै छ भन्दा पनि हुन्छ।
अर्का तर्फ सिनेमा श्रव्य दृश्यको निर्माण कसरी भइरहेको छ ? कस्ता सिनेमा बजारमा आइरहेका छन् ? भन्ने कुरालाई सन्तुलित बनाउन र सिनेमा र दर्शकबीचको सुचना हकलाई सघाउ पुर्याउन सबै भन्दा ठूलो अस्त्र मानिएको चलचित्र पत्रकारिता नै असन्तुलित बनेर आएको पनि देखियो। यहाँ जान्ने पनि आए, नजान्ने पनि आए ।
समग्र सिनेमा र यसका अध्यायहरुलाइ नजिकबाट समीक्षा गर्ने र सुचना प्रवाह गर्ने ओजिलो जिम्मेवारी पाएको पत्रकारिता आफै व्यक्ती परक बन्नाले यसको ओजन खस्किँदै गएको पनि देखिन थाल्यो। यहाँ लेख्न भन्दा पनि देख्न ( चर्चामा पर्न ) आफुलाई कसरत गर्न थालियो। सिने कर्ममा आफुलाई समर्पित गर्ने अब्बल सिने कलमहरु घुन र गहुँको उदाहरण झैँ हुन पुगे।
सिने समाजमा असरल्ल छरिएका विकृतिहरुको बाबजुद सिने कर्ममा रमाएका ती तमाम श्रमजीवी पत्रकार, कलाकार र साहित्य प्रेमीहरु हल्लाको सहारा नलिई चुपचाप सफलताको झण्डा उठाइरहेका छन् र आफ्नो कर्ममा बिश्वास राख्दै निरन्तर अगाडि बढी रहेका छन्। साचो अर्थमा भन्ने हो भने सिमित सिनेकर्मीको श्रम र सोचले सिने क्षेत्र जिउँदो छ भन्दा गलत नहोला। यिनै ढुकढुकीलाई अपनाउँदै आउने दिनमा अगाडि बढ्न नयाँ पुस्तालाई मद्दत पनि मिल्ने छ।
सिनेमामा कथा बाचनको तीनवटा रुप अहिले हामी पाउछौँ। एकातिर ‘प्रकाश’ र ‘चिसो मान्छे’ जस्ता सिनेमा छन् भने ‘बुलबुल’, ‘हल्कारा’, ‘ऐनाझ्यालको पुतली’ जस्ता सिनेमाहरुले आफ्नो दायरा फराकिलो पार्दैछन् । त्यस्तै “छक्का पन्जा” र ‘कबड्डि’का सिरिज लहरुले भने व्यवसायिक दायरा फराकिलो बनाउँदै अगाडि बढिरहेको देखिन्छ । अर्को तिर विश्वमाझ हाम्रा आफ्ना सिनेमा पुग्ने बाटाहरु पनि बिस्तारै खोलिँदै आएका छन्। जसलाई हामी सबैका लागि सफलता मान्न सकिन्छ।
अझै यस्ता कुराहरु ‘सुरसिनेमा’ले आगामी दिनमा केलाउँदै जानेछ। पहिलो वार्षिकोत्सवको अवसरमा फेरि पनि सम्पूर्णमा आभार प्रकट गर्न चाहान्छौँ। असत्यसँग सत्यको विजय हुने समयको यो संघारमा सिनेमा क्षेत्रका सबै विकृती र विसंगतिहरुलाई परास्त पार्दै राष्ट्रका लागि संस्कृति अनि संस्कारलाई विश्व सामु लैजाने हामी सबैलाई प्रेरणा मिलोस् । बडा दशैंको शुभकामना ।















