Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रकाश सपूत भन्छन्- ‘परदेशी २’मा युवा परदेशीको भूमिका निर्वाह गरेको छु

काठमाडौं : आगामी असोज २६ गतेदेखि मौलिक तथा सामाजिक कथामा आधारित सिनेमा ‘परदेशी २’ नेपालभर एकसाथ रिलिज हुँदैछ।

वैदेशिक रोजगारीमा जानुपर्ने आम नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा ‘परदेशी–२’ को प्रवर्धनका लागि ‘डेब्यु नायक’ प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी यतिबेला धरानमा छन्।

भिडिओमा कथा र गीतमा मुद्दाका कारण नेपाली लोक संगीत जगतमा रुचाइएका प्रकाश सपूतले पहिलो सिनेमामार्फत नयाँ पुस्ताको वैदेशिक यात्राका संघर्ष बोकेको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए । 

‘सामान्य गाउँको युवाले पोस्टरहरुमा, सिडी, भिसिडीमा चलचित्र हेरेको र आज तिनै पोस्टरहरुमा चलचित्रको नायकका रुपमा आफूलाई पाउँदाको अनुभूति दुईचार शब्द र दुईचार मिनेटमा व्यक्त गर्न सकिंदैन,’ धरानस्थित फ्रेण्ड्स् सिनेमामा आयोजित पत्रकार सम्मेलनमा सपूतले भने, ‘गोर्खापल्टन, परदेशीलगायतका राम्रा चलचित्र निर्माण गरिसक्नु भएका निर्माता र नेपाली फिल्म इण्डस्ट्रिजका अनुभवी कलाकारसँग स्क्रिनसेयर गरेको छु, आफूलाई भाग्यमानी कलाकारका रुपमा पाएको छु, मलाई हावामा उडिरहेको जस्तो, बबल्समा हिंडिरहेको जस्तो भएको छ ।’

‘परदेशी २’ आफ्नो चरित्रले युवा परदेशीको भूमिका निर्वाह गरेको सपूतले बताए । यो सिनेमा मानवीय संवेदनाको ‘फूल प्याकेज’का रुपमा आएको सपूत बताउँछन् । उनका अनुसार आफ्नो परिवार र बाआमासँगको संवेद्य दृष्य, गाउँ रित्तिएको वेदना, बाआमा रित्तिएका कथा, विदेश गएर एउटा परदेशीले खाएको हण्डर र संघर्षलाई चलचित्रले भन्ने प्रयत्न गरेको छ । राष्ट्रियताका दृष्टिले समेत चलचित्र बहुआयामिक रहेको छ । 

हाल चलचित्र ‘परदेशी–२’ को प्रवर्धनमा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले सिनेमामा आफ्नो फरक भूमिका रहेको बताइन् । उनले मिडियामा सिनेमबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित भएको बताइन् । सिनेमाकै प्रमोशनका क्रममा धरान पुगेका निर्माता राजेश वंशलले सिनेमा कुनै पनि छिमेकी सिनेमा वा कथाबाट प्रभावित नभई मौलिक नेपाली कथामा निर्माण भएको बताए । 

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट सिनेमा दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो सिनेमा हो । यो सिनेमा निर्माता वंशल र निर्देशक रायमाझीले संयुक्त निर्माण गरेका हुन् । 

सिनेमामा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । 

सिन्व्माको कथा–पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।