Sur Cinema

‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ : देशको वास्तविकता चित्रण

काठमाडौं : पछिल्लो निर्वाचनको मत परिणाम हेर्दा नेपाली जनता नेताहरुसँग सन्तुष्ट नरहेको देखिन्छ । स्वतन्त्र र नयाँ पार्टीको विजयलाई पुराना नेताप्रतिको वितृष्णा मान्दा फरक नपर्ला । हो, यही विषयवस्तुमा सिनेमा ‘दिमाग खराब’को गीत रिलिज गरिएको छ।

बुधबार निर्माण टिमले ‘बिरामी देश’ बोलको गीत रिलिज गरेको हो। राजनीतिक बेथितिलाई लिएर आजभोलि धेरै सिनेमा बन्न थालेका छन्। ‘नाङ्गो गाउँ’ सिनेमा जुन अहिले हलमा लागिरहेको छ। यो सिनेमाले पनि यही बिषय उठाएको छ । तर लामो समयपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतबाट पनि दर्शकले केही खास अपेक्षा गरेकै छन् । हाल सम्म सार्वजनिक सामाग्री हेर्दा उनले दर्शकको अपेक्षा पूरा गर्ने लक्षण देखिएको छ ।

अहिले दैनिक जसो ठूलो संख्यामा मानिस बिदेशिदै छन् । भन्नेहरुले पनि देशमा बस्नेहरु जति बिदेश जाने मेसो नमिलेर बसेका भन्न थालेका छन् । हुन पनि अवसरको अभाव र केही गर्न खोज्दा पाईने असफलताले देश छोड्नै पर्ने स्थिती आएको छ । तर ‘बिरामी मुलुक’ गीत मार्फत जयन जे वाइवले जनताको पनि पो गल्ती छ कि देश नबन्नुमा भन्ने तर्फ संकेत गरेका छन्।

‘टाठा बाठा मखमलमा, सोझासाझा सुकुलमा
सोझाले त हो इनलाई बसाको महलमा’

यो हरफले जर्ज अर्वेलको एनिमल फार्म पुस्तकको एक भनाईलाई प्रतिनिधित्व गरेको छ । सबै मानिस बराबर छन् । तर कोही बराबर मध्य पनि अलिक धेरै बराबर छन्, यो भनाईलाई यो गीतले अझ प्रमाणित गर्ने प्रयास गरेको देखिन्छ ।

समग्रमा नायिका नचाएर कोरस जम्मा गरेर सिनेमा हिट गराउने निर्माण पक्ष भन्दा यो टिम केही भिन्न देखिएको छ । सबैको अपेक्षा झैँ निश्चलको निर्देशकिय कमब्याक ‘बबाल’ बन्ने अनुमानमा सार्वजनिक सामाग्रीले इटा थप्दै लगेको छ ।