काठमाडौं
यही भाद्र ८ गते अर्थात अगस्ट २५ बाट प्रदर्शन तयारीमा रहेको सिनेमा ‘जय हो’ ले काठमाडौँमा सिनेमाको पोष्टर नटास्ने भएको छ । काठमाडौँ सुन्दर बनाउने अभियानमा साथ दिन आफ्नो सिनेमाको पोष्टर नटास्ने निर्णय गरेको निर्माता शोभित बस्नेतले बताए । बस्नेतले आफ्नो मात्र नभएर कुनै पनि सिनेमाका पोष्टर नटास्न अनुरोध समेत गरेका छन् ।
बस्नेत स्टन्ट मन पराउने सिनेकर्मी हुन । उनलाई विवादित बनेर सिनेमा चलाउन मन पर्छ । तर यस पटक उनी अचानक नरम बनेका छन । उनमा यो लचकता कसरी आयो ? ‘डाडाको वर पिपल सिनेमा’को व्यापार उनको बोलीकै कारण बिग्रेको थियो । त्यही घटनाले पो उनलाई सजग बनायो कि ? या त ‘बगान’ सिनेमामा पोस्टर घटनाले भएको चर्चालाई हेर्दै उनले यो बिषय उठाएका होलान । खैर, उनमा सकारात्मक परिवर्तन देखिएको छ । अहिलेलाई यति नै काफी मानौ ।
टेक पौरखी राईद्वारा निर्देशित सिनेमामा सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेडमा समीर खान । सिनेमा सुरज ल्वागन (सरकार) र राज के अधिकारीले लगानी गरेर निर्माण गरेका हुन् ।