काठमाडौं
रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गए राति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।
‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ ।
मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिएका थिए । याद नेपाली म्युजिक फेस्टिभल भाग-२ नाम सहित योजना गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी भएका हुन् ।
कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । बोतल प्रहारको घटनालाई लिएर दिपक राज गिरी, बद्री पङ्गेनी, हेनन्त शर्मा जस्ता कलाकर्मीले बिरोध गरिरहेका छन् ।