धरान : याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा ३ जना याक्थुङ सिनेकर्मीहरु सम्मानित भएका छन्। सम्मानित हुनेमा लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, नवीन सुब्बा र सुरज सुब्बा नाल्वो रहेका छन्।
उनीहरू ३ जना शनिबार धरानमा सम्पन्न ‘याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०’ को अवसरमा सम्मानित भएका हुन्। उक्त कार्यक्रममा चर्चित सिनेमा नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएको हो।
त्यस्तै, हालपनी प्रदर्शनरत ५१ औ दिन मनाउन सफल सिनेमा ‘जारी’का लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र सिनेमा लेखक तथा सुपरहिट सिनेमा सायद, बाटोमुनिको फुल र बितेकापलका निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको हो।
याक्थुङ कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रमार्फत बिश्वसामु पुर्याएको र आदिवासी जनजाती सिनेमाहरुलाई नेपाली सिनेमा बजारमा चिनाउन अथक् प्रयास गरेर उल्लेख्य योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।
त्यस्तै, उत्सवको अवसरमा विगत चार दशकदेखि मोफसलमै रहेर सिनेमा क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ‘याक्थुङ बरिष्ठ कलाकार’ पदबाट र किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ चलचित्रकर्मी’ पदवीबाट सुशोभन समानित गरिएको हो ।