Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पलसँग रोमान्टिक सिन गर्ने प्रकृतिको रहर

काठमाडौं : एकताका चलेको र खुबै रुचाइएको जोडीको रुपमा पल शाह र प्रकृति श्रेष्ठको जोडीलाई लिने गरिन्थ्यो। यो जोडीको त्यो समयमा खुब चर्चा हुन्थ्यो। सुनिल गिरीको गीत ‘को होला त्यो’ पछि त पल र प्रकृति एकसाथ लामो समयसम्म म्युजिक भिडियोमा देखिए।

कतिपयले त वास्तविक जोडी भनेर पनि भन्ने गर्थे। तर उनीहरू रियल नभएर रिलका जोडी मात्रै थिए। सँगै दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेका पल र प्रकृति बिचमा लामो समय सँगै देखिएनन्। प्रकृति अष्ट्रेलिया गएपछि पलको विस्तारै पूजा शर्मा, आँचल शर्मा, मलिका महत, रियासा दाहाल, गरिमा शर्मा लगायतका नायिका तथा मोडलसँग नाम जोडिँदै आयो।

जति जनासँग पलले स्क्रिनमा जोडी भएर काम गरे, सबैसँग जोडी जम्यो। प्रायः सबै कामहरु दर्शकले रुचाए। दर्शकले पुनः पल र प्रकृतिको जोडी स्क्रिनमा हेर्न चाहेका थिए। त्यसै अनुरुप करिब १ वर्ष अघि सुनिल गिरीकै नयाँ गीत ‘झम्के साँझ’बाट पल र प्रकृति एकसाथ जोडीको रुपमा देखिएका थिए। यो गीतमा पनि पल-प्रकृतिको जोडीलाई दर्शकले अतिनै रुचाए।

त्यसपछि भने यि दुईले एकसाथ भिडियोमा जोडी बाँधेका थिएनन्। पल चाहिँ आफ्नो जीवनमा घटेको एक घटनाबाट सफाई पाएपछि विस्तारै म्युजिक भिडियोमा सक्रिय हुँदैछन्। उनका आधा दर्जन बढी म्युजिक भिडियो रिलिजको क्रममा छन्।

यता प्रकृति भने सिनेमा ‘बिहे पास’बाट फेरि सिने नगरीमा कमब्याक भइन् ।यो सिनेमा यतिबेला केही हलमा चलिरहेको छ। अब भने प्रकृतिलाई पलसँग फेरि जोडी बाँध्न मन छ। पलसँग भिडियोमा फेरि रोमान्टिक सिन गर्न मन छ।

आफुले काम गरेको सिनेमाको प्रचारप्रसारमा व्यस्त भइरहँदा प्रकृतिले एक मिडियामा अन्तर्वार्ता दिनेक्रममा पलसँग फेरि काम गर्न इच्छुक भएको बताएकी छिन्। पहिलेदेखि नै पलसँग आफ्नो जोडी दर्शकले रुचाएको भएर पलसँग काम गर्न उत्साहित रहेको पनि प्रकृतिले बताइन्।

सिनेमा ‘होस्टेल’बाट नेपाली रजतपटमा डेव्यू गरेकी प्रकृति हाल श्रीमानसँग अष्ट्रेलिया बस्दै आइरहेकी छिन्। हालसम्म दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। चलचित्र ‘बिहे पास’ मार्फत भने लामो समयपछि दर्शकमाझ देखिएकी हुन्।

उनले ‘होस्टेल, सुभारम्भ, उत्सव, जिन्दगी रक्स, आभाष र बिहे पास’ गरि हालसम्म ६ वटा सिनेमा काम गरिसकेकी छिन्।भने, केही अवार्ड समेत प्राप्त गर्न सफल भइसकेकी छिन्।