७ कार्तिक २०७९
काठमाडौं : गत असोज ७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रेमगीत ३’ले दर्शकको निकै साथ पायो । अझै पनि सिनेमा हलमा चलिरहेको छ। प्रदर्शनको दिनदेखि नै करिब २ हप्तासम्म हाउसफुल हुन सफल सिनेमाले नेपाली बक्स अफिसमा एकदम राम्रो व्यापार गर्यो।
एकसाथ नेपाली र हिन्दी डब विश्वभर प्रदर्शनमा आएको सिनेमाले बिदेशी बक्स अफिसमा समेत राम्रो आम्दानी संगै दर्शकको राम्रो साथ पायो। निरन्तर दर्शकको साथ पाएको सिनेमाले आइतबार काठमाडौंमा सक्सेस पार्टी गरेको थियो।

काठमाडौंको बुढानिलकण्ठ स्थित बालगृह महासंघमा निर्माण टिमले सक्सेस पार्टी सम्पन्न गरेको हो। ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को सक्सेस पार्टी होटलमा गरेको सिनेमा टिमले यसपटक भने बाल गृहका ५५ जना बालबालिकासँग खानपिन गरेर देउसी खेल्दै सक्सेस पार्टी गरेको थियो। सक्सेस पार्टीमा सुरसिनेमासंग बोल्दै ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले ‘प्रेमगीत ३’को हिन्दी डब आफ्नो लागि अन्तरास्ट्रिय स्तरमा एउटा परिक्षणको रुपमा लिएको बताएका छन् ।

‘प्रेमगीतको हिन्दी भर्सन र नेपालीमा तपाइँलाई कुन राम्रो लाग्यो ?’ भन्ने सुरसिनेमाकर्मीको प्रश्नमा प्रदीपले जवाफ दिए, ‘हामीले पहिल्यैदेखि भन्दै र फेसबुकमा लेख्दै आएका हौं कि प्रेमगीत नेपालीमा एकदम राम्रो छ। तर केही थप मसलाको स्वाद लिनको लागि हिन्दी डब हेर्न सक्नुहुन्छ दर्शकले भनेर बारम्बार भनेकै हो। सिधा भन्दा हिन्दी डब हाम्रो लागि परिक्षण हो।’ त्यस्तै, प्रेमगीतसँगै आगामी सिनेमा अझै राम्रो गर्ने प्रदीपले बताए। निरन्तर या केही वर्षको अन्तरालमा होस् सन्तोष सेनसंग सहकार्य हुने प्रदीपको भनाइ छ। विभिन्न होटलमा मनाउनुभन्दा बालगृहका बालबालिका संग खानपिन गर्दै, देउसी खेल्दै सक्सेस पार्टी गरेको ‘प्रेमगीत ३’को कार्य निकै सराहनीय छ।