काठमाडौं : करिब पाँच वर्षपछि नायिका निरुता सिंह नेपाली चलचित्रमा फर्किएकी छिन्। मुम्बईबाट नेपाल आएकी निरुताले सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र ‘३६ को आँकडा’ मार्फत कमब्याक गर्दैछिन्।
यस चलचित्रमा उनीसँगै अर्की चर्चित नायिका रेखा थापा पनि देखिँदैछिन्। रेखा र निरुताले ‘दुई पल’ पछि पहिलो पटक एकसाथ काम गर्दैछन्।
निरुताले आफू नेपाली चलचित्रबाट टाढा हुन नसक्ने भन्दै अब निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन्। कोरोना महामारीका कारण केही समय काम गर्न नसकेको बताउँदै उनले भनिन्, “अब म कहीँ पनि जाँदिनँ। म निरन्तर नेपाली चलचित्रमा काम गर्छु।” यसअघि उनले ‘दाल भात तरकारी’ पछि कुनै पनि नयाँ चलचित्रमा काम गरेकी थिइनन्।
निर्देशक सविर श्रेष्ठले निरुताको भूमिकाबारे अहिले नै नखुलाए पनि चलचित्रमा उनको भूमिका विशेष रहेको बताए।
“मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही चलचित्रमा काम गरेको थिएँ, तर निर्देशक भएपछि काम गर्न पाएको थिइनँ,” उनले भने, “यो चलचित्रमा निरुता दिदी नै चाहिने भूमिका छ। यसैले, उहाँलाई हामीले आग्रह गरेका हौँ।”
‘३६ को आँकडा’ मा निरुता र रेखाका अलावा पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारको पनि अभिनय रहनेछ। यस चलचित्रको छायांकन आजबाट सुरु हुँदैछ।















