Sur Cinema

प्रेम, आकर्षण र सम्बन्धको कथा : ‘फ्रेन्च किस’को टिजर सार्वजनिक

काठमाडौं : सिनेमा ‘फ्रेन्च किस’को टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरसँगै सिनेमा आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो।

सार्वजनिक टिजरमा अर्पण थापा र थिन्ले ल्हामोको रोमान्सलाई केन्द्रमा राखिएको छ। काठमाडौंका सुन्दर स्थानदेखि तालसम्म घुम्ने एक युगल जोडीको प्रेम, आकर्षण र सम्बन्धमा आउने उतारचढावलाई टिजरमा प्रस्तुत गरिएको छ। आधुनिक प्रेम क्षणिक आकर्षणमा सीमित हुँदै गएको संकेत टिजरले गरेको छ।

अर्पण थापाको निर्देशन रहेको सिनेमामा अर्पण र थिन्लेसँगै रेखा थापा, गौरी मल्ल र आयशा तामाङलगायत कलाकारको अभिनय छ। सिनेमाको कथा पनि निर्देशक थापा स्वयंले लेखेका हुन्।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही हुन्। सुदीप बरालको छायांकन रहेको सिनेमामा दीपक बज्राचार्यको संगीत रहनेछ।