Sur Cinema

बक्सअफिसमा साढे ३ करोड कमाउँदै ‘बाः एक योद्धा’ ५१औँ दिनमा

काठमाडौं : हरि लम्सालको डेब्यू निर्देशनमा बनेको सिनेमा ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो ।

बक्सअफिसमा औसत व्यापार गरे पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको सिनेमा केही हलमा अझै प्रदर्शनरत छ । सिनेमाले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्टमा उल्लेख छ ।

बुवाको त्याग, संघर्ष र पारिवारिक भावनालाई मुख्य विषय बनाइएको सिनेमाले सन्तानको भविष्यका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्ने चुनौतीलाई प्रस्तुत गरेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ ।

हरि लम्सालकै लेखन तथा निर्देशन रहेको सिनेमाका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् ।