Sur Cinema

‘हिमालयन गोल्ड’मा कर्माको ‘गुण्डा’ अवतार, भन्छन्– परिस्थितिले पात्रलाई खलनायक बनाउँछ

काठमाडौं : अभिनेता कर्मा आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘हिमालयन गोल्ड’मा नकारात्मक भूमिकामा देखिँदैछन् । उनले सिनेमामा ‘प्रकाश’ नामक खलपात्रको भूमिका निर्वाह गरेका छन् । कर्माका अनुसार उनको चरित्र पुरानो भाषामा ‘गुण्डा’ भए पनि परिस्थितिले निर्माण गरेको पात्र हो ।

‘मेरो चरित्र नेगेटिभ सेडको छ । तर, म त्यसलाई केवल खलनायकका रूपमा लिँदिनँ । पात्रले परिस्थितिअनुसार काम गर्छ,’ कर्मा भन्छन् । सिनेमामा उनको पात्र यार्सागुम्बा लुटपाटमा संलग्न हुन्छ ।

निर्देशक धिराज राजवंशीको डेब्यु सिनेमा ‘हिमालयन गोल्ड’को कथावस्तु र प्रस्तुति आफूलाई पृथक लागेको कर्मा बताउँछन् । सिनेमाको छायांकनका क्रममा मुस्ताङको उच्च हिमाली क्षेत्रस्थित गुफामा एक्सन दृश्य खिच्नु चुनौतीपूर्ण रहेको उनको अनुभव छ । अक्सिजनको कमी र धुलोका बाबजुद उक्त गुफामा पाँच दिन लगाएर एक्सन दृश्य खिचिएको थियो ।

परीक्षा लिम्बुको मुख्य भूमिका, वरिष्ठ अभिनेता सुनिल थापाको अभिनय र पृथक कथावस्तु सिनेमाका आकर्षण रहेको कर्माको भनाइ छ । गीत समावेश नगरिएको सिनेमाले दर्शकलाई फरक सिनेम्याटिक अनुभव दिने उनको विश्वास छ ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा कर्मा, परीक्षा, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखियालगायत कलाकारको अभिनय छ । हिमाली परिवेशमा बनेको यो सर्भाइभल थ्रिलरले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातको कथा प्रस्तुत गर्छ ।

सिनेमालाई नेपालमा एप्पल इन्टरटेनमेन्ट र भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले वितरण गर्दैछन् । निर्माण टिमका अनुसार नेपाली सिनेमाले पहिलोपटक एए फिल्म्समार्फत भारतव्यापी प्रदर्शनको अवसर पाएको हो । साथै, यो वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम सिनेमा समेत हो ।