काठमाडौं : ऋषि लामिछाने निर्देशित सिनेमा ‘माग्ने राजा’ यही भदौ ६ गतेदेखि नेपालभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ। सिनेमा नेपालसँगै विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुनेभएको छ।
आगामी २२ अगस्टदेखि भने अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन हुँदैछ। अष्ट्रेलियामा मात्रै हालसम्म तय भए अनुसार सिनेमाको २१ बढी शो’हरु हुनेछन्।
सिनेमामा केदार घिमिरे (‘माग्ने बुढा’) मुख्य भूमिकामा छन्। उनीसँगै विल्सन विक्रम राई (‘तक्मे बुढा’), वर्षा शिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साँकी (मिस पबी) लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ।
सोसल ड्रामामा आधारित सिनेमाको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सिनाले लेखेका हुन्। सिनेमालाई कमेडी शैलीमा निर्माण गरिएको भए पनि यसमा सामाजिक सन्देश र भावनात्मक गहिराइ मिसिएको छ।
‘माग्ने राजा’ आरम्भ प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमा हो। मुनाल घिमिरे र मधुसुदन शर्मा सिनेमाका निर्माता हुन्। सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका छन्, संगीत दीपक शर्मा र बाबुल गिरीले तयार पारेका छन्, सम्पादन मित्र गुरुङले गरेका छन् भने पार्श्र्व संगीतमा सुजिल कर्माचार्य रहेका छन्।















