Sur Cinema

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ : विजयलाई एपिक नेचुरल स्टारको ट्याग

काठमाडौं : सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो सिनेमाको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ ।हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ ।

सिनेमाको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ ।

उनको नि-न्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।निर्माणपक्षले विजयलाई एउटा ट्याग दिएको छ । विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो ।छायांकन सकिएको यो सिनेमा अहिले पोस्ट-प्रोडक्सनको टेबुलमा छ ।

सिनेमामा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने छ ।