Sur Cinema

एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा

काठमाडौं : प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली सिनेमा ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यस सिनेमालाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् ।

भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता सिनेमामार्फत नेपाली सिनेमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन् । उनले भने, “नेपालका नयाँ सिनेमेकरहरू अबको नेपाली सिनेमाका प्रमुख आशा हुन् । ‘ऊनको स्वीटर’ जस्तै सिनेमाले यही सम्भावनालाई पुष्टि गर्छ ।”

निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ पछिल्लो समय नेपाली सिनेमा बजारमा सफलताको शिखर चुमिरहेको सिनेमा हो । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ ।

‘ऊनको स्वीटर’ ले सिर्जना र संवेदनाको बलमा दर्शकमाझ स्थान बनाउँदै गरेको यस अवस्थालाई एरिक भ्यालीजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको प्रशंसाले थप विश्वसनीयता दिलाएको छ ।