काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ । घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन् ।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो । सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।















